आफ्नो व्यवसायलाई भ्याटमा दर्ता कसरी गर्ने? (आवश्यक कागजात र प्रक्रिया सहित)


सरकारले तोकेको कारोबार सिमाभन्दा बढीको कारोबार गर्नेले भ्याटमा दर्ता हुनुपर्छ। यसमा विगत १२ महिनामा वस्तु (जस्तै मोबाइल, टिभी, पेय पदार्थ) कारोबार गर्नेको हकमा ५० लाख, वस्तु र सेवा मिश्रित कारोबार र सेवा (जस्तै इन्टरनेट सेवा, कन्सल्टेन्सी, आदि) कारोबार गर्नेको हकमा २० लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति वा व्यवसाय पर्छन्। हामीले भ्याटमा दर्ता गराउनुपर्ने र नपर्ने दुवै खाले व्यवसायको बारेमा लेख तयार परिसकेका छौँ। 
यो लेखमा हामी भ्याटमा दर्ता कसरी गर्ने र के के कागजात चाहिन्छ भन्ने विषयमा चर्चा गर्दै छौँ। भ्याटमा दर्ता हुन अनलाइन आवेदन दिनुपर्ने हुन्छ। यसका लागि निम्न प्रक्रिया पुरा गर्नुपर्छ।
  • सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेबसाइट  www.ird.gov.np मा जानुहोस्।
  • होम पेजमा भएको Taxpayer Portal मा क्लिक गर्नुहोस्।
  • भ्याटमा दर्ता हुनुभन्दा पहिला आन्तरिक राजस्व विभागको वेबसाइटमा खाता खोलेको हुनुपर्छ
  • खाता खोल्नको लागि Registration (PAN, VAT, EXCISE) मा क्लिक गर्नुहोस्।
  • त्यस भित्रको  Application For Registration मा जानुहोस्।
    • यसमा भएको Username मा आफूले सम्झने नाम राख्नुहोस्। 
    • Password मा आफूले सम्झिने र अरूले चोर्न गाह्रो हुने पासवर्ड हाल्नुहोस् र Re-password मा त्यही अघि राखेको पासवर्ड राख्नुहोस्। 
    • Contact No.मा सम्पर्क नम्बर र Email-Id मा इमेल ठेगाना लेख्नुहोस्।
    • यति गरेपछि Registration For मा VAT छान्नुहोस्।
    • कुन कार्यालयमा भ्याट दर्ता गराउने हो, सो कार्यालयको ठेगाना IRO Name मा खुलाउनुहोस्। 
    • यो सबै भरेपछि OK बटनमा थिच्नुहोस्।
  • यति गरेपछि Submission Number आउँछ। 
    • अघिल्लो चरणमा राखेको Username र Password आन्तरिक राजस्व विभागको अन्य E-SYSTEM हरू मा पनि प्रयोग हुन्छ। त्यसैले आफ्नो Username, Password र Submission Number सुरक्षित राख्नुहोस्।
  • यदि तपाईँ PAN मा पहिले नै दर्ता हुनुहुन्छ भने Submission Number भएकै स्क्रिनमा PAN No. भनेको ठाउँमा प्यान नम्बर राखेर Continue मा थिच्नुहोस्।
  • यदि PAN मा दर्ता हुनुहुन्न भने स्क्रिनको बायाँ भाग तिरको Online Services मा भएको Registration (PAN, VAT, EXCISE) भित्रको Registration Log In मा जानुहोस्।
    • यसमा अघिको Submission Number, Username र Password हालेर Log In मा थिच्नुहोस्।
  • यहाँ दिइएका आवश्यक विवरण (जस्तै भ्याट लाग्ने र नलाग्ने कारोबार रकम, सञ्चालकको व्यक्तिगत विवरण, आदि) भर्नुहोस्।
  • कुनै विवरण थाहा नभएर पछि भर्नुपर्ने भए Save गर्नुहोस्।
    • यस्तो गर्दा पछि Username, Password र Submission Number हालेर लग इन गरेर फेरी विवरण भर्न सकिन्छ।
  • विवरण भरेर ठिक छ छैन जाँच्नलाई रुजु गरेपछि Save गरेर Submit मा क्लिक गर्नुहोस्।
    • Submit गरिसकेपछि कुनै विवरण गलत भए पनि मिलाउन पाइन्न। त्यसैले Submit गर्नु अघि नै सबै विवरण राम्रोसँग हेर्नुहोला।
  • त्यसपछि Print मा थिचेर विवरण  प्रिन्ट गर्नुहोस्। सोही प्रिन्ट लिएर आफूले छानेको सम्बन्धित कर कार्यालयमा जानुहोस्।
  • कार्यालयले तपाईँलाई विवरण जाँच गरेर भ्याटमा दर्ता भएको प्रमाणपत्र दिन्छ।
भ्याट  दर्ता गर्न के के कागजात चाहिन्छ ?
स्थायी लेखा नम्बर लिई सकेको छ भने दरखास्त मात्र दिए पुग्छ। प्यान कार्ड लिएको छैन भने निम्न कागजात चाहिन्छ।
  • रीतपूर्वक भरेको दरखास्त फारम
  • व्यक्तिगत फर्म भए २ वटा तस्विर
  • व्यवसाय दर्ता प्रमाणपत्र
  • नागरिकताको प्रतिलिपि (प्राइभेट कम्पनी वा फर्म भए सञ्चालकहरूको र साझेदारी भए सबै साझेदारहरूको नागरिकता)
  • आफ्नो घरमा भए जग्गाधनी पुर्जा, भाडाको घर भए घर बहाल सम्झौतापत्र
  • प्रधान कार्यालय वा मुख्य कारोबार स्थल पहिचान हुने गरी तयार गरेको नक्सा
  • कम्पनीको हकमा प्रबन्धपत्र/नियमावली
  • कम्पनीको अधिकारनामा (Power of Attorney)
भ्याटमा दर्ता गर्न कति दस्तुर तिर्नु पर्छ ?
भ्याटमा दर्ता गर्न कुनै पनि प्रकारको दस्तुर तिनु पर्दैन।
भ्याटमा दर्ता किन हुने?
  • कानुनको पालना गरेर कुनै पनि जरिवाना र सजायबाट बच्न
  • दर्ता भइसकेपछि पाइने कर कट्टी व्यवस्थाको उपभोग गर्न
  • सरकारी कार्यालयसँग कारोबार गर्न

Comments